जय नेपाल कप टी-२० क्रिकेट प्रतियोगितामा बुधबार भारतको बिहार विश्वविद्यालय र नेपालको मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दिनको पहिलो खेलमा भारतको बिहार विश्वविद्यालयले नेपालको पुर्वाञ्चल विश्वविद्यालयलाई १ सय ७८ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
बिहारले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको पुर्वाञ्चलले ११.४ ओभरमा अल आउट हुँदै ३४ रन मात्र जोड्न सक्यो ।
पुर्वाञ्चलका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अमित मण्डलले बनाएको ९ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रहन पुग्यो । बलिङमा बिहारका रोहनकुमारले ४ विकेट र विशाल राजले ३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बिहारले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रनको बिशाल योगफल तयार पारेको थियो । बिहारका लागि चन्द्र प्रकाशले ४९ बलमा सर्वाधिक ७१ रन जोडे । विशाल राजले १७ बलमा ४४ रन जोडे ।
दिनको दोस्रो खेलमा मध्यपश्चिम विश्वविद्यालयले काठमाडौं विश्वविद्यालय (केयू) लाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
मध्यपश्चिमले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौं १४.२ ओभरमा ५८ रनमै अलआउट भयो । काठमाडौंका लागि ओपनर इशान पाण्डेले १० रन जोड्दा दिवस सुवेदीले ३१ रन बनाए । बलिङमा मध्यपश्चिमका विपिन खत्रीले पाँच विकेट लिए । उनले ४ ओभरमा ८ रन मात्र दिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९२ रनको योगफल तयार पारेको थियो ।
मध्यपश्चिमका लागि राजकुमार साहले ३८ बलमा ६२ रन बनाए भने सुवास भण्डारीले २१ बलमा ३९ रनको योगदान गरे । बलिङमा काठमाडौंका सुप्रिम बस्नेतले ३ विकेट लिए ।
प्रतियोगितामा नेपालका ४, भारतका ३ तथा बंगलादेशको १ विश्वविद्यालयको सहभागीता रहेको छ ।
