प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा कोशी र मधेश प्रदेशबीचको खेल रद्द भएको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबारको लागि तय भएको प्लेअफ खेल खराब मौसमका कारण रद्द भएको हो । खेलको टससमेत हुन सकेन । दुवै टोलीले १-१ अंक बाँडेका छन् । समूह ‘बी’ मा तेस्रो र चौथो स्थानमा रहेका यि दुई टिमबीच प्लेअफको खेल हुने तालिका थियो ।
कोशी समूह ‘बी’ मा तेस्रो र मधेशले चौथो स्थानमा रहेका थिए । यस समूहबाट आर्मी समूह विजेता र बागमती प्रदेश समूह उपविजेता बन्दै सुपर फोरमा पुगेको थियो । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगेका छन् ।
सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ । सुपर फोरका खेलहरु बिहीवारबाट सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
