बेलबारी । मोरङको बेलबारीमा जारी पाँचौं माघे संक्रान्ति नकआउट फुटबल प्रतियोगितामा पानबारी फुटबल क्लब धरान सेमिफाइनलमा प्रवेश गरेको छ ।

बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सलबारीको खेलमैदानमा बिहिबार भएको तेस्रो क्वाटर फाइनल खेलमा इन्ट्रा पथरी एघार मोरङलाई २-० गोल अन्तरले हराउँदै पानबारीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पानबारीको जितमा मिलन लिम्बुले दुबै गोल गरेका हुन् । मिलनले खेलको १४औं र ४७औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पनि मिलन भए । उनले नगद २,५०० पुरस्कार पाए ।

भोलि शुक्रबार चौथो तथा अन्तिम क्वाटर फाइनल खेल आयोजक नक्सलबारी फुटबल क्लब र तालतलैया बोइज सुनसरीबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरी कुल आठ क्लबको सहभागिता रहेको छ ।

नक्सलबारी फुटबल क्लब बेलबारीको आयोजना तथा नेपाल मगर संघ बेलबारी र जनज्योति क्लबको संयोजनमा जारी प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ । प्रतियोगिताको विजेताले उपाधि सहित नगद १ लाख १ हजार तथा उपविजेताले नगद ५१ हजार पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *