केराबारी । मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप खुला पुरूष नकआउट फुटबल प्रतियोगितामा बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार केराबारी-८ स्थित केराबारी रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई टाइब्रेकरमा २-१ गोलले पराजित गर्दै बेलबारीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफको २४औं मिनेटमा निरज कार्कीको गोल मार्फत बिर्तामोडले अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयम बेलबारीका मौसम लिम्बुले बराबरी गोल फर्काए । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि जितको छिनोफानो टाईब्रेकरबाट भएको हो ।
खेलको म्यान अफ दि म्याच बेलबारीका मौसम लिम्बु घोषित भए । उनले रु ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबार चात्या सा. दमक र चित्लाङ एफसी काठमाडौंबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले रु ३ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु १ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल पुस २६ गते हुनेछ ।
