नेपाली पुरुष टोलीपनि भारतमा जारी प्रथम खो-खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा पुरुषतर्फ शुक्रबार भएको क्वाटरफाइनल खेलमा बंंगलादेशलाई ६७-१८ ले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।
नेपाल समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनलमा पुगेको थियो । नेपाल समूह चरणको पहिलो खेलमा भारतसँग पराजित हुँदा दोस्रो खेलमा पेरू, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो ।
नेपाली पुरुष टोलीले सेमिफाइनलमा इरानको सामना गर्नेछ । इरान केन्यालाई हराउँदै सेमिफाइनल पुगेको हो ।
यसअघि खो–खो विश्वकपको महिलातर्फ इरानलाई हराउँदै नेपाली टाेली सेमिफाइनलमा पुगिसकेको छ । नेपाली महिला टोलीले सेमिफाइनलमा अफ्रिकन मुलुक युगान्डाको सामना गर्नेछ ।
प्रतियोगिताको सेमिफाइनलका खेल शनिबार हुनेछन् भने फाइनल खेल आइतबार हुनेछ ।
