नेपाले आइसिसी यु-१९ महिला टी-२० विश्वकपअघि वेस्ट इन्डिज र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाले पुस २९ मा वेस्ट इन्डिजसँग र माघ २ मा अमेरिकासँग खेल्ने छ ।
गत कात्तिकमा सम्पन्न एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलोपल्ट विश्वकपमा स्थान बनाएको हो । प्रतियोगिताका लागि नेपाली टोली पुस २७ मा मलेसियातर्फ प्रस्थान गर्नेछ ।
यु–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदैछ । उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् ।
नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड समेत रहेका छन् । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग खेल्ने छ । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।
नेपाल क्रिकेट संघले पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
नेपालको टोली:
पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत
