पोखराको टाइगर ग्रुपले आयोजनामा हुन लागेको पाँचौं टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप एक्सन स्पोर्टस् एचडी १ ले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश होमका ग्राहकहरूले टेलिभिजनमा तथा डिशहोम गो एप प्रयोगकर्ताहरुले एक्सन स्पोर्टस् एचडी १ मा प्रत्यक्ष हेर्न सक्ने आयोजकले जानकारी दिएका छन् ।
माघ १२ देखि माघ १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा, पुरुष र महिला दुवै विधामा एक-एक अन्तर्राष्ट्रिय टोली सहभागी हुनेछन्, जसमा पुरुषतर्फ भारत र महिलामा थाइल्यान्डका भलिबल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्येक विधामा ६ गरी कुल १२ टोलीले पाँचौँ संस्करणमा भाग लिने आयोजकले जानकारी दिएका छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब (अमिन, भारत), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ एपीएफ क्लब, न्यु डायमन्ड स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब छन् ।
सन् २०२० मा टाइगर ग्रुप स्थापना भएदेखि पोखरा रङ्गशालामा आयोजना हुँदै आएको प्रतियोगिताको पाँचौं संस्करणमा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५५५, उपविजेताले २ लाख ८५ हजार ५५५ र तेस्रो हुने टोलीले एक लाख ८५ हजार ५५५ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट सर्भर, सेटर, लिबेरो, स्पाइकर र प्रशिक्षकलगायत व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले १० हजार ५५५ रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएका छन् ।
