एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।
शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबारदेखि हुने उक्त प्रतियोगिताको ट्रफी गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । ट्रफी अनावरण गर्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको पहिलो खेल शनिबार बिहान १० बजेबाट सुरु हुनेछ । खेल हेर्ने दर्शकका लागि टिकट खुला गरिएको आयोजकले जनाएको छ । खेल हेर्न इसेवामार्फत अनलाइन टिकट काट्न सकिनेछ ।
दुई खेलपछि उद्घाटन कार्यक्रम हुने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । पहिलो दिनको तेस्रो खेलमा आयोजकको महिला टोलीले खेल्नेछ । अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीमा थाइल्याण्डका तीन खेलाडी अनुबन्ध भएका छन् ।
प्रतियोगितामा २ विदेशी टोलीसहित ६-६ टोलीले सहभागिता जनाएका छन् । विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुनेछन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सहभागी हुँदैछन् ।
महिलातर्फ सहभागी टोलीमा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन् ।
प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ ।
