जय नेपाल कप अन्तर विश्वविद्यालय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालको मध्यपश्चिम विश्वविद्यालय र भारतको लखनऊ विश्वविद्यालय प्रतिस्पर्धा गर्ने भएका छन् ।
आज भएको पहिलो सेमिफाइनलमा लखनऊले बंगालदेशको ढाका विश्वविद्यालयलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको ढाकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७९ रनको योगफल खडा गरेको थियो । १८० रनको लक्ष्य पछ्याएको लखनऊले १६.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
यस्तै दोस्रो सेमिफाइनलमा मध्यपश्चिमले त्रिभुवन विश्वविद्यालयलाई ७७ रनले पराजित गर्दै लखनऊसँँगको उपाधि भिड्न्त पक्का गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९१ रनको योगफल खडा गरेको थियो ।
मध्यपश्चिमका ओपनर रवीन्द्रजंग जोशीले सर्वाधिक ६९ रन बनाए । उनले ५० बलमा एक चौका र ६ छक्का प्रहार गरे । यस्तै, दीपकप्रसाद डुम्रेले ३२ बलमा पाँच चौका र पाँच छक्कासहित ६३ रन थपे । देवान पुनले १२ बलमा चार चौकासहित २३ रन जोडे ।
त्रिभुवन विश्वविद्यालयका लागि मुकेश ओझाले २ तथा अमितकुमार मण्डल, भीम सार्की, सेमोन रोय र सन्तोषबहादुर चन्दले समान १ विकेट लिए ।
१९२ रन पछ्याएको त्रिभुवन विश्वविद्यालय १८.३ ओभरमा ११४ रनमा अलआउट भयो । त्रिभुवन विश्वविद्यालयबाट ओपनर लोकेश बमले सर्वाधिक ४४ रन बनाए । यस्तै, सुरेन्द्रप्रसाद पन्तले १८, सेमोन रोयले १६ भीम सार्कीले १५ र आइस भट्टराईले १० रन थपे ।
मध्यपश्चिमका लागि विपिन खत्री, दिवान पुन र सुवास भण्डारीले समान २ तथा राजकुमार साह र विनित खत्रीले समान १ विकेट लिए ।
मध्यपश्चिम र लखनऊबीच हुने फाइनल खेल मंंगलबार हुनेछ । नेपाल विद्यार्धी संघले आयोजना गरेको प्रतियोगितामा नेपालका ४, भारतका ३ तथा बंगलादेशको १ विश्वविद्यालयको सहभागिता छ ।
