जय ट्रफी एलिट कप क्रिकेटमा नेपाल पुलिस क्लबले शानदार जित हासिल गरेको छ । मधेशलाई दोस्रो इनिङमा ९४ रनमा अलआउट गर्दै पुलिसले एक इनिङ र ३५ रनको जित निकालेको छ ।

दोस्रो इनिङमा पुलिसभन्दा १२९ रनले पछाडि रहेको मधेश दोस्रो इनिङमा ९४ रनमा अलआउट भयो । मधेशले अग्रता नै लिन नसकेपछि पुलिसले दोस्रो इनिङ नै खेल्नुपरेन र सहज जित निकाल्यो ।

पर्सामा भएको खेलको दोस्रो दिन ४० ओभरमा ३ विकेटको क्षतिमा १७४ रनको अवस्थाबाट खेल सुरू गरेको पुलिसले ५९ ओभर खेलेर इनिङ्स घोषणा गरेको थियो । त्यसपछि मधेशले आफ्नो दोस्रो इनिङको ब्याटिङ थालेको थियो ।

मधेशका विशाल पटेलले सर्वाधिक २७ रन बनाउँदा ओपनर मयन यादवले २२ रन बनाए । पुलिसका लागि कुशल भुर्तेलले पाँच, गुल्शनकुमार झाले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए ।

त्यसअघि पुलिसले ५९ ओभरमा २५८-४ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको पुलिसले १२९ रनको अग्रता लिएको थियो । आरिफ शेख ४० तथा शंकर राना ३१ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल ६३ तथा दिलिप नाथ ४० रनमा आउट भएका थिए । मधेशका कप्तान हरिशंकर साहले २ तथा रुपेश सिंह र अभिषेक तिवारीले १ विकेट लिए ।

बुधबार टस हारेर ब्याटिङ गरेको मधेशले पहिलो इनिङमा अलआउट हुँदै १२९ रन बनाएको थियो । मधेशका लागि मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा निरज यादवले २९ रन बनाए ।

पुलिसका गुल्शन झाले १३ ओभरमा ४० रन दिएर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा सर्वन यादव र ललित राजवंशीले एक-एक विकेट लिए ।

जारी प्रतियोगितामा कुनै पनि टिमको यो पहिलो जित हो । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो । यस्तै, मधेशले पनि पहिलो खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको थियो ।

लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती र मधेशले आर्मीको सामना गर्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *