नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको बुधबारको खेल सकिएको छ ।

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा पहिलो ब्याटिङ गरेको आर्मीले पहिलो इनिङमा ५ विकेट गुमाउँदै २७६ जोड्दै पारी घोषित गरेको थियो ।

पहिले ब्याटिङ गर्दै उत्कृष्ट शुरुवात गरेको आर्मीका ओपनरद्वय त्रितराज दासले ४४ र इमरान शेखले ७२ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै भिम सार्की ३२ बनाउँदा विनोद भण्डारी भने सुन्य र सोमपाल कामी ७ रनमा आउट भएका थिए ।

त्यस्तै बसीर अहमद ५३ र कुशल मल्लले ३५ रनमा अविजित रहे । बागमती प्रदेशको तर्फबाट विपीन आचार्यले ३ र सन्दीप लामिछानेले २ विकेट लिन सफल भए ।

त्यस्तै बागमती प्रदेशले आजको खेल समाप्त हुनुअघि ५ विकेट गुमाएर १२४ रन बनाउन सफल भएको छ । बागमती अझै १५२ रनले पछाडि छ ।

बागमतीको तर्फबाट आशुतोष घिरैयाले ११, रित गौतमले २१, उत्तम मगरले २८, इशान पाण्डेले ४, शुभ कंशाकारले ३४ रन बनाएका थिए ।

पहिलो इनिङ सकिदा नन्दन यादव १८ र विपिन आचार्य १ रन बनाएर खेलिरहेका छन् । पहिलो इनिङमा उत्कृष्ट बलिङ गरेको आर्मीको तर्फबाट आकाश चन्दले ३ विकेट लिएका छन् ।

आकाशले ६ ओभरमा ३५ रन दिएर ३ विकेट लिएका हुन । त्यस्तै सोमपाल कामीले १० ओभरमा ४५ रन दिएर २ विकेट लिएका छन् । यसअघि आफ्नो पहिलो खेलमा आर्मीले पुलिस र बागमतीले मधेश प्रदेशसँग बराबरी खेलेका थिए ।

दुई दिवसीय फर्म्याटमा खेलाईने खेलमा चार टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *