दक्षिण अफ्रिकाले आइसिसी च्याम्पियन्स ट्रफी २०२५ का लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
पाकिस्तान र युएईमा फेब्रुअरी १९ देखि मार्च ९ सम्म हुने च्याम्पियन्स ट्रफीका लागि तीव्र गतिका बलर एनरिक नोट्र्ज र लुंगी एनगिडीले पुनरागमन गरेका छन् ।
एनरिक नोर्जे सेप्टेम्बर २०२३ यता एकदिवसीय क्रिकेटबाट बाहिर रहेका थिए। पछिल्लो समय ढाडमा चोटका कारण उनी २०२३ को एकदिवसीय विश्वकप र घरेलु सिरिज गुमाउन बाध्य भएका थिए ।
त्यस्तै, लुंगी एनगिडी अक्टोबर २०२४ यता ग्रोइन चोटका कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिर रहेका छन् ।
टिमको कप्तानी टेम्बा बावुमाले गर्नेछन् । १५ सदस्यीय टोलीमा २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलसम्म पुऱ्याएको खेलाडीहरूको समूहलाई समावेश गरिएको छ । च्याम्पियन्स ट्रफीका लागि छनोट गरिएका टोलीमा १० खेलाडीहरू विश्वकप टोलीकै रहेका छन् ।
दक्षिण अफ्रिकाले न्युजिल्याण्ड र पाकिस्तानविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै च्याम्पियन्स ट्रफीको अन्तिम तयारी गर्नेछ । च्याम्पियन्स ट्रफीमा एकदिवसीय विश्व कप २०२३ को शीर्ष ८ टोलीको सहभागिता रहेको छ ।
दक्षिण अफ्रिकाले फेब्रुअरी २१ मा अफगानिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको समूह ‘बी’ मा रहेको छ । समूह ‘बी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान सहित अष्ट्रेलिया र इङ्ल्यान्ड छन् ।
दक्षिण अफ्रिकाको टोली:
टेम्बा बावुमा (कप्तान), टोनी डी जोर्जी, मार्को ज्यानसेन, हेनरिच क्लासेन, केशव महाराज, एडेन मार्कराम, डेविड मिलर, वियान मुल्डर, लुंगी एनगिडी, एनरिक नोर्जे, कागिसो रबाडा, रायन रिकेलटन, तबरेज साम्सी, ट्रिस्टन स्टब्स, र रस्सी भान डर डुसेन
