कुवेतमा जारी अरेबियन गल्फ कपको उपाधिका लागि ओमान र बहराइनबीच प्रतिस्पर्धा हुने भएको छ ।
मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा ओमानले साउदी अरेबियालाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । खेलको अधिकांश समय १० खेलाडीमा सीमित भए पनि ओमानले साउदीमाथि जीत दर्ता गर्न सफल भयो ।
खेलको ३४औं मिनेटमा ओमानका अल मन्धर रबिया सईद अल-अलावीले साउदीका सालेम अल्दावसारीमाथि फउल गरेपछि रातो कार्ड पाएका थिए । निर्णय विवादास्पद देखिए पनि ओमानले साउदीमाथि लगातार दबाब बनाएको थियो ।
खेलको ७४औं मिनेटमा साउदीका मुसाब फहज अलजुवैरले ओमानका अहमद अल खमीसीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि ओमानले फ्रिकिकको मौका पायो । अर्शद अल-अलावीले शक्तिशाली फ्रिकिकमार्फत गोल गर्दै ओमानलाई अग्रता दिलाए ।
८५औं मिनेटमा ओमानले अर्को गोल गर्दै आफ्नो अग्रता दोब्बर बनाएको थियो । अब्दुलरहमान अल मुसाइफ्रिले दिएको पासलाई अली अल बुसैदीले सहजै गोलमा परिणत गरेका थिए ।
साउदी अरेबियाले ८७औं मिनेटमा मोहम्मद कान्नोको शक्तिशाली प्रहारबाट गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाए पनि हार भने टरेन ।

यस्तै, अर्को सेमिफाइनलमा बहराइनले आयोजक कुवेतलाई १- ० गोलले हराउँदै गर्दै फाइनलमा स्थान बनाउन सफल भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बहराइनले ७५ औं मिनेटमा गोल गरेको थियो । बहराइनका मोहमद महरुनले एमिनी बेन्डिडको पासमा गोल गरेका थिए । सोही गोल नै निर्णायक बन्यो ।
फाइनल खेल शनिबार हुनेछ ।
