बराहाक्षेत्र । बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जार स्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयको खेलमैदानमा आउँदो पुष २० गतेदेखि २८ गतेसम्म तेस्रो अन्तराष्ट्रिय आमन्त्रण भरौल गोल्डकप भेट्रन फुटबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ ।

कालाबञ्जारमा आयोजित पत्रकार सम्मेलनमा भरौल भेट्रान फुटबल क्लबका अध्यक्ष तथा पूर्व खेलाडी विमल कार्कीले प्रतियोगिताको जानकारी गराउँदै कुल अनुमानित बजेट १२ लाख ५० हजार रहने बताए ।

उनका अनुसार प्रतियोगितामा विभिन्न ९ टिमको सहभागिता रहनेछ। प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र हात पार्नेछन् भने दोस्रो हुने टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सफल बनाउन स्थानीय स्तरमा व्यापक तयारी भइरहेको छ । आयोजकका अनुसार प्रतियोगिताले क्षेत्रीय खेलकुदको प्रवर्द्धन गर्नका साथै स्थानिय खेलाडीलाई प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ ।

कालाबञ्जारवासीका लागि यो प्रतियोगिता मनोरञ्जनका साथै फुटबलप्रति आकर्षण बढाउने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *