काठमाडाैँ माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा दाेस्राे जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा मंगलबार भएकाे दिनकाे पहिलाे खेलमा काठमाडाैँले हिमालयन रेडर्सलाई ५६-३४ काे फराकिलो अन्तरले पराजित गरेकाे हाे ।
खेलमा सुरुआती समयदेखिनै अग्रता बनाएकाे काठमाडाैँले खेलको पाँचौँ मिनेटमा हिमालयनलाई अल आउट गरेकाे थियाे । काठमाडौँले ९–२ को अग्रता बनायो । त्यपछि खेलको ११औँ मिनेटमा पुन: हिमालयन अल आउट हुँदै २१–६ ले स्कोर सुम्पियो । पुन: ३२–१० को स्कोरमा तेस्रोपटक १७औँ मिनेटमा हिमालयन अलआउट भयो ।
पहिलो हाफमा ३६–१३ को फराकिलो स्कोर बनायो । त्यसपछि दोस्रो हाफमा काठमाडौँ ३८-२२ को स्कोरमा पहिलोपटक अलआउट भयो। दोस्रो हाफमा ५०–२७ को स्कोरमा पुन: हिमालयन अलआउट भयो ।
जितसँगै काठमाडौंले तीन खेलबाट ११ अंक जोडेको छ । हिमालयन भने समान खेलबाट पाँच अंकसहित चौथो स्थानमा छ ।
