एन्फा यु १६ युथ लिगमा शुक्रबार चर्च ब्वाइज युनाइटेड र बिभायी टोली नेपाल एपिएफ क्लब बिजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चर्च ब्वाइजले हिमालयन शेर्पा तथा एपिएफले खुमलटारलाई पराजित गरेको हो ।
दिनको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हरायो ।
चर्च ब्वाइजलाई जित दिलाउन आशिक स्याङतानले दुई र सुशन थापामगरले एक गोल गरे । एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । हिमालयन शेर्पाका लागि शिव नेपालीले गोल गरे ।
जितसँगै चर्च ब्वाइजले ५ खेलबाट १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम छ । पराजित हिमालयन शेर्पा समान खेलबाट १ अंकसहित ९औं स्थानमा छ ।

त्यसैगरी दिनको दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले हरायो ।
एपिएफलाई जित दिलाउन अविनाश वाइबाले दुई तथा तेन्जिङ शेर्पाले एक गोल गरे ।
जितसँगै एपिएफ ६ खेलमा १४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँचौ खेलमा पनि अंकविहिन रहेको खुमलटार लिगको पुछारमा छ ।
