एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टोली एपिएफ क्लबले बागमती युवा क्लबलाई ६–० गोलले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा एपिएफको जितमा रश्मीकुमारी घिसिंङ र सरु लिम्बुले समान दुई गोल गर्दा प्रिति राईले एक गोल गरिन् । एक गोल भने एपिएफले आत्मघाती उपहारका रुपमा पायो ।

रश्मीले खेलको ४२औं मिनेटमा गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । कमजोर बागमतीविरुद्ध पहिलो हाफको इन्जुरी समयमा रश्मीले ब्यक्तिगत तथा एपिएफका लागि दोस्रो गोल गरिन् ।

यसपछि ५४औं मिनेटमा बागमतीकी सेमिहाङ्मा लिम्बु पन्धकले आत्मघाती गोल उपहार दिइन् । यो सँगै खेलमा एपिएफले ३-० को अग्रता बनायो । त्यसको एक मिनेटपछि सरुले गोल गरेपछि एपिएफ ४-० ले अघि बढ्यो ।

प्रितिले खेलको ८८औं मिनेटमा एपीएफका लागि पाँचौं गोल गरिन् । इन्जुरी समयमा सरुले ब्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ६-० को सहज जित दिलाइन् ।

खेलको प्लेयर अफ दि म्याच एपिएफकी सविताराना मगर घोषित भइन् । उनले नगद ५,००० रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

लगातार पाँचौं जित निकालेको एपिएफ शीर्ष स्थानमा थप मजबुत भएको छ । जारी लिगमा अपराजित रहेको एपीएफले पाँच खेलबाट स्पष्ट १५ अंक जोडेको छ । बागमतीको यो चौथो हार हो । बागमती पाँच खेलबाट ३ अंक जोडेर चौथो स्थानमा कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *