सुनसरी । आयोजक हाम्रो इटहरी भेट्रान क्लबले पाँचौं आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबलको उपाधि जितेको छ ।
फाइनल पुगे पनि विराटनगरको टीडब्लुवाईसी भेट्रान क्लबले प्रोटेस्ट हारेपछि उपाधिका प्रतिस्पर्धा गर्ने अवसर पाएको इटहरीले धनकुटाको हाम्रो राजारानी भेट्रान क्लबलाई पेनाल्टी शुटआउटमा ४-३ ले पराजित गरेको हो ।
सेमिफाइनलमा इटहरीलाई २-० ले पराजित गरेको विराटनगरले एउटाको नाममा अर्को खेलाडी खेलाउनुका साथै ४० वर्षभन्दा कम उमेरको खेलाडी खेलाएको पुष्टि भएपछि फाइनल खेल्न अयोग्य घोषित गरिएको थियो ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पसको मैदानमा शनिबार भएको फाइनलमा निर्धारित समयको खेल १–१को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा इटहरीका लागी डेनिम राई, अनुप शेर्पा, हर्कराज गुरुङ र सुरेन्द्र तामाङले गरेको प्रहार गोलमा परिणत भएको थियो भने कमल बस्नेत चुकेका थिए ।
राजारानीका लागि कृष्ण शाक्य, सचिन राई र भूपेन लिम्बूले मात्र गोल गरे । मित्र बस्नेतको प्रहार इटहरीका गोलरक्षक तुलसी श्रेष्ठले रोके भने सन्तोष बस्नेतको प्रहार पोलमा लागेर फर्कियो ।
यसअघि खेलको १७औं मिनेटमा सचिन राईको गोलबाट हाम्रो राजारानी भेट्रानले खेलमा अग्रता लिएको थियो । यद्यपि २७औं मिनटमा डेनिम राईले हाम्रो इटहरी भेट्रानका लागि बराबरी गोल फर्काएका थिए ।
इटहरीका वैकल्पिक गोलरक्षक तुलसी श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद २१०० रुपैयाँ र ट्रफी हात पारे ।
विजेता टोली इटहरीले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता हाम्रो राजारानी भेट्रानले ६१,००० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजारानीका कृष्ण शाक्य भए । उनले नगद ५ हजार र ट्रफी हात पारे । त्यसैगरी उत्कृष्ट गोलरक्षक इटहरीका सुनिल तामाङ बन्दा उत्कृष्ट डिफेन्डर पनि इटहरीकै दिवश राई चुनिए । त्यस्तै उत्कृष्ट मिडफिल्डर समेत इटहरी कै डेनिम राई चुनिदा उत्कृष्ट फरवार्ड राजारानीका सचिन राई बने ।
उत्कृष्ट प्रशिक्षक हाम्रो इटहरी भेट्रानका लिलाराम मगर बने । उत्कृष्ट बनेका सबैले जनही समान नगद ३५०० रुपैयाँ र ट्रफी हात पारे । त्यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार भने समान २–२ गोल गरेका हाम्रो राजारानी भेट्रानका कृष्ण शाक्य, सचिन राई र टिडब्लुवाईसी बिराटनगरका गणेश लावतीले हात पारे । तीनै जनाले जनही समान नगद १५०० रुपैयाँ प्राप्त गरे ।
विजेता तथाउपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्की लगायतले पुरस्कृत गरिन् ।
