सुष्मा तामाङको ह्याट्रिकमा वालिङ नगरपालिकाले एन्फा महिला लिग अन्तर्गत अन्तिम चरणको खेलमा पहिलो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा वालिङले बागमती युवा क्लबमाथि ३-१ को पुनरागमन जित निकालेको हो ।
दोश्रो चरणको आफ्नो अन्तिम खेलमा वालिङलाई जित दिलाउन सुस्मा तामाङले ह्याट्रिक गरिन् । बागमतीका लागि सारा लिम्बुले गोल गरिन् ।
४३औं मिनेटमा साराले गोल गर्दै बागमतीलाई अग्रता दिलाएको भएपनि दोस्रो हाफको ५६औं, ६८औं र ८५औं मिनेटमा सुषमाले गोल गर्दै ह्याट्रिक गर्दा वालिङको सान्त्वना जित सम्भव भयो ।
पहिलो जितसँगै वालिङले आठ खेलबाट तीन अंक जोड्यो । यसअघि नै वालिङ प्लेअफ दौडबाट बाहिरिसकेको थियो । पराजित बागमतीको समान खेलबाट चार अंक जोड्यो । आठ खेलबाट ४ अंक बनाएको बागमती यसअघि नै प्ले अफमा पुगिसकेको छ ।
प्लेअफको इलिमिनेटरमा बागमतीले नेपाल पुलिस क्लबको सामना गर्नेछ । क्वालिफायर १ मा शीर्ष स्थानको एपिएफ फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
अन्तिम चरणको लिगमा कुल ५ टोली सहभागी छन् । गत भदौ अन्तिममा भएको लिगको दोस्रो चरणमा सहभागी १० टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।
