इटालियन सिरी ‘ए’ मा उपाधि होडमा रहेका दुई टोली नापोली र इन्टर मिलान विजयी भएका छन् ।
आईतवार राति भएको खेलमा नापोलीले हेलास भेरोनालाई २–० ले पराजित गरेको छ । आफ्नै मैदानमा नापोलीलाई जित दिलाउन एन्ड्रे फ्रांक जाम्बो अन्गुइस्साले गोल गर्दा अर्को गोल भेरोनाका लोरेन्जो मोन्टिपोबाट आत्मघाती गोल उपहार पाएको थियो ।
खेल सुरु भएको पाँचौं मिनेटमा मोन्टिपोको आत्मघाती गोलमार्फत नापोलीले सुरुवाती अग्रता लिएको थियो ।त्यसपछि खेलको ६१औं मिनेटमा अन्गुइस्साले गोल गर्दै नापोलीलाई २–० को सहज जित जिताए ।
सहज जितसँगै नापोलीले २० खेलबाट ४७ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम छ । पराजित भेरोना भने समान २० खेलबाट १९ अंकसहित तालिकाको १७ औं स्थानमा झरेको छ ।

गएराती नै भएको अर्को खेलमा दोस्रो स्थानको इन्टर मिलानले भेनेजियालाई १-० ले हरायो ।
भेनेजियाकै मैदानमा इन्टरलाई जित दिलाउन १६औं मिनेटमा माटिओ डार्मियनले गोल गरेका थिए । सोही गोल निर्णायक बन्दा इन्टर विजयी भएको हो ।
जितसँगै १८ खेलमा ४३ अंक जोडेको इन्टर दोस्रो स्थानमा कायम छ । पराजित भेनेजिया भने १० खेलमा १४ अंकका साथ १९औं स्थानमा छ ।
आइतबार राती भएको लिगको अन्य खेलमा जेनोआले पार्मालाई १-० ले पराजित गर्दा रोमा र बोलोग्नाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
