गोर्खा समाज बेल्जियमले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ ।
समाजले नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा प्रशिक्षकसँगको समन्वयमा टोलीलाई २ लाख २२ हजार ३२२ रुपैयाँ उपलब्ध गरायो ।
सोमबार महिला टोलीको पूर्व प्रशिक्षक बालगोपाल महर्जनको समन्वयमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रिय सदस्य पेमा डोल्मा लामा, चिफ कोच अरुणा गुरुङ, ओलाम्पियन संगिना वैद्यलगायतले खेलाडीलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडीहरू दीपा शाही, हिरा केसी अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी, सविता रानामगर, रेणुका नगरकोटे र निशा थोकर उपस्थित थिए । मुख्य प्रशिक्षक राजेन्द्र तामाङ पनि कार्यक्रममा सहभागी थिए ।
अञ्जीला तुम्बापो सुब्बाको कप्तानीमा रहेको नेपाल घरेलु मैदानमै सम्पन्न साफ च्यामिपयनसिपको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित हुँदा उपविजेता सीमित बनेको थियो ।
एन्फा केन्द्रिय सदस्य लामाले गोरखा समाज बेल्जियमका अध्यक्ष राम घले र महासचिव तेजबहादुर नेपालीलाई धन्यवाद दिइन्। ‘यस्ता सम्मानले खेलाडीलाई फुटबलमा लाग्न हौसला प्रदान गर्छ । खेल्न मनोबल बढाउँछ । सम्मानका लागि राम र तेज सर दुवैलाई धन्यवाद’, लामाले भनिन् ।
