काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज (मंगलबार) हुँदै छ ।
सर्वाधिक पुरस्कार राशीको नकआउट फुटबल प्रतियोगिता काँग्रेस सभापति कप फुटबलको फाइनल प्रवेशका लागि आयोजकको टिम नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) र न्यु रोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने छ।
आयोजक टिमको कप्तान विकेश कुथु छन् भने एनआरटीका कप्तान अञ्जन विष्ट छन् । एनआरटी ए डिभिजनको टिम हो भने आयोजकले ए डिभिजन खेलेका विभिन्न क्लबका खेलाडीहरूलाई समेटेर आयोजकको टिम निर्माण गरिएको छ ।
क्वाटरफाइनलमा आयोजक टिम बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । पुलिससँग १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट कम ब्याक गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको थियो ।
यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा संकटाले मच्छिन्द्र क्लबमाथि सडनडेथमा ८–७ को जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद २६ लाख प्राप्त गर्दा उप विजेताले १३ लाखमा पाउनेछ ।
