ललितपुर । जारी एन्फा महिला लिगको अन्तिम चरणमा शीर्ष स्थानको एपीएफ क्लबले चौथों खेल सम्म अपराजित यात्रा कायम राखेको छ । विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबविरुद्ध ३-१ को जित निकाल्यो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफलाई जित दिलाउन निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान एक-एक गोल गरे । आर्मीका लागि बिमला थापाले एक गोल फर्काइन् ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएका हो । एपिएफले ६०औं मिनेटमा गोलको खडेरी तोेडेको थियो । निशाको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । तर त्यसको १० मिनेटपछि विमलाले आर्मीका लागि बराबरी गोल फर्काइन् ।

अन्तिम १० मिनेट सम्हालिन नसक्दा आर्मी पराजित भयो । ८५औं मिनेटमा अनिताले गोल गर्दै एपिएफलाई २-१ को स्थितिमा पुर्याइन् । त्यस्तै खेलको ९० औं मिनेटमा प्रिती राईले गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाइन् ।

खेलको प्लेयर अफ दि म्याच एपिएफकि कप्तान अनिता बस्नेत घोषित भइन् ।

जितसँगै एपिएफले ४ खेलबाट स्पष्ट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । पराजित आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलबाट ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *