फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लेन्समाथि पुनरागमन जीत दर्ता गरेको छ । १ गोलले पछि परेको पीएसजीले अन्त्यमा २-१ को नतिजा निकाल्दै तालिकामा ३ अंक थप्न सफल भयो ।
खेलको पहिलो हाफको ३६ औं मिनेटमा एमबाला एनजोलाले लेन्सलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ५९ औं मिनेटमा फाबियन रुइजले पीएसजीका लागि बराबरी गोल गरे । ८६औं मिनेटमा ब्राडली बारकोलाले निर्णायक गोल गर्दै पीएसजीलाई महत्वपूर्ण ३ अंक दिलाए ।
यस जितपछि पीएसजीले लिग वानको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता कायम गरेको छ । साथै, टोलीले लगातार ३३ खेलसम्म अवे मैदानमा अपराजित रहने कीर्तिमान पनि बनाएको छ ।
लिगकै अन्य खेलमा ब्रेस्टले रेनेसलाई २-१ ले हराउँदा लियोन र टोलुस भने गोलरहित बराबरीमा रोकिए ।
