अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी एन्फा यु-१६ युथ लिगमा विभागिय टोली नेपाल एपिएफ क्लब र थ्री स्टार क्लबले पहिलो जित हासिल गरेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा एपिएफले सातदोबाटो युथ क्लबमाथि २-१ को कठिन जित निकालेको हो ।
एपिएफको जितमा अविनाश वाइबा र तेन्जिङ शेर्पाले गोल गरे । सातदोबाटोले एक गोल एपिएफका बिकेन खत्रीबाट आत्मघाती उपहार पाएको थियो ।
खेलको २४औँ मिनेटमा अविनाशको गोलमा एपिएफले अग्रता बनाएको थिए । तर ४१औं मिनेटमा बिकेनले आत्माघाति गोल गरेपछि सातदोबाटो खेलमा फर्किएको थियो । त्यसपछि कप्तान तेन्जिङले ६३औं मिनेटमा गोल गरेपछि एपिएफ विजयी भयो ।
यसअघि एपिएफ पहिलो खेलमा थ्री स्टार क्लबसँग बराबरीमा रोकिएको थियो । यता सातदोबाटो भने पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोलसँग पराजित भएको थियो ।
पहिलो जितसँगै एपिएफले दुई खेलबाट चार अंक जोडेको छ । दुवै खेलमा पराजित सातदोबाटो अंकविहिन छ ।

एन्फा कम्प्लेक्समै बुधबार भएको दोस्रो खेलमा थ्री स्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १०-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
थ्री स्टारको एकपक्षीय जितमा सिर्जन श्रेष्ठ र रोहन बम्जनले ह्याट्रिक पूरा गरे । त्यस्तै, पूर्ण श्रेष्ठले दुई गोल गर्दा थप गोल भुपेन्द्रबहादुर रावत र जोंगसेन खेन्चो काजीले गरेका थिए ।
खेलको १०औं मिनेटमा भुपेन्द्रले गोल गर्दै थ्री स्टारलाई दिलएका थिए । २३औं मिनेटमा जोंगसेनले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए ।
पूर्णले ४४ र ६६औं मिनेटमा गोल गरेपछि थ्री स्टार आर्मीमाथि ४-० गोलअन्तरले अघि रहृयो । रोहनले ७० र ७५ औं मिनेटमा गोल गर्दै थ्री स्टारको अग्रता ६-० बनाए ।
सिर्जनले ७८औं मिनेटमा टोलीका लागि सातौं गोल गरे । आठ मिनेटपछि रोहनले ह्याट्रिक पूरा गर्दा थ्री स्टारको अग्रता ८-० पुग्यो ।
सिर्जनले निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा र इन्जुरी समयमा गोल गर्दै थ्री स्टारलाई १०-० को सानदार जित दिलाए ।
यसअघि पहिलो खेलमा थ्री स्टार एपिएफसँग गोलरिहत बराबरीमा रोकिएको थियो । यता आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
पहिलो जितसँगै थ्री स्टारले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित आर्मी अंकविहिन छ ।
