कप्तान ब्रुनो फर्नान्डेसले अन्तिम समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा रोमाञ्चक जित निकालेको छ ।
बिहिबार राति भएको लिग चरणको खेलमा युनाटेडले रेन्जर्समाथि २-१ को रोमाञ्चक जित निकालेको हो ।
घरेलु मैदान ओल्ड ट्राफेडमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन कप्तान ब्रुनो फर्नान्डेजले एक गोल गर्दा अर्को एक गोल रेन्जर्सका गोलरक्षक ज्याक बटलान्डबाट आत्मघाती उपहार प्राप्त गर्यो । रेन्जर्सका लागि सिरिल डेसेर्सले एक गोल फर्काए ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५२औं मिनेटमा क्रिस्टियन एरिक्सेनको कर्नर रेन्जर्सका गोलकिपरले बचाउने क्रममा पन्च गरेको बलले पोस्टको दिशा लिँदा युनाइटेडले अग्रता लिएको थियो ।
खेलको ८८ औं मिनेटमा डेसेर्सले स्कटिस टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरी स्थितिमा आयो । तर इन्जुरी समयको दोस्रो मिनेटमा ब्रुनोले निर्णायक गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाए ।
जितसँगै ७ खेलबाट १५ अंक जोडेर युनाइटेडले ७ खेलबाट १५ अंक जोडेर अंक तालिकाको चौथौं स्थानमा उक्लिएको छ र नकआउट चरणमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । युनाइटेड जारी सिजनको युरोपामा अपराजित छ ।
रेन्जर्स भने समान ७ खेलमा ११ अंकका साथ १३औं स्थानमा झरेको छ ।
