आगामी फागुनमा चार देश सम्मिलिन अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबल प्रतियोगिताका लागि नेपाली महिला राष्ट्रिय टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।
यसअघि नेपालमा सन् २०२४ मा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएपछि तामाङले १४ कात्तिकमा प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
प्रशिक्षकबाट राजीनामा दिएको तीन महिनापछि तामाङ पुन: प्रशिक्षकका रूपमा फर्किएका हुन् । यसैगरी, एन्फाले टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रशिक्षकको नियुक्ति पत्र दिएसँगै प्रतियोगिताका लागि तामाङले ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । बन्द प्रशिक्षण माघ १९ देखि सुरु हुनेछ ।
आगामी फागुन ५ देखि हुने प्रतियोगितामा नेपालको महिला राष्ट्रिय टोलीसहित किर्गिस्तान, लेवनान र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ । एन्फाका अनुसार प्रतियोगिता फागुन १४ सम्म सञ्चालन हुनेछ ।
नेपालले पहिलो खेल १७ फेब्रुअरीमा कीर्गिस्तानसँग खेल्नेछ । पहिलो दिन नै म्यानमार र लेबनान आमनेसामने हुनेछन् । नेपालले २० फेब्रुअरीमा लेबनान र २३ फेब्रुअरीमा म्यानमारको सामना गर्नेछ ।
सिंगल राउण्ड रोबिनपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त २६ फेब्रुअरीमा हुनेछ । फोर नेसन्स कप प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा हुनेछन् । खेलहरु फिफा विन्डोमा हुन लागेको हुनाले सबै खेलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछन् ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :
अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला विके., निशा ठोकर, समीक्षा घिमिरे, पूजा राना, अनिता बस्नेत, अमिशा कार्की, अनिता केसी, प्रीति राई, विमला चौधरी, रेनुका नगरकोटी, सारु लिम्बू, सबित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता रानामगर, सजनी ठोकर, चन्द्रा भण्डारी, रेनुका हमाल, सम्झना लावती, सबित्री किशन, सहारा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, बिर्सना चौधरी, सुकृया मियाँ, प्रतीक्षा चौधरी, सेमीहाङ्मा लिम्बू पन्धाक, मिना देवुवा, पुष्पाकुमारी खड्का, यशोदा शाही, ममता पुन, झुमा विश्वकर्मा।
