भारत पहिलो दिन १८५ मै समेटियो

२०८१, १९ पुष शुक्रबार १४:११

अस्ट्रेलियाका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा भारत सस्तैमा समेटिएको छ ।

शुक्रवार बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत अस्ट्रेलियासामू १ सय ८५ रनमा समेटिएको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारत पहिलो दिनको खेल समाप्ती हुनु केही अघि १ सय ८५ रनमा अल आउट भएको हो ।

भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४० रन जोडे। पन्तले ९८ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । रविन्द्र जडेजा २६, कप्तान जसप्रित बुमराह २२, शुभमन गिल २० तथा विराट कोहली १७ रनमा आउट भए ।

अस्ट्रेलियाका लागि तीव्रगतिका बलरहरु चम्किएका थिए । स्कट बोल्याण्डले ४, मिचेल स्टार्कले ३, कप्तान प्याट कमिंसले २ तथा नाथन लायनले १ विकेट लिएका थिए । अस्ट्रेलियाका लागि नौ विकेट तीव्रगतिका बलरले आफ्नो नाम गरेका थिए ।

आज नै पहिलो इनिङको सुरुवात गरेको अस्ट्रेलियाले पहिलो दिनको समाप्तीसम्म एक विकेट गुमाएर नौ रन जोडेको छ ।

पहिलो टेस्टमा भारत २ सय ९५ रनले विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो। तेस्रो टेस्ट बराबरीमा सकिदा चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो। यसका साथ सिरिजमा अस्ट्रेलिया २-१ ले अघि रहेको छ ।

वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनलमा स्थान बनाउँने सम्भावना कायमै राख्न भारतलाई यो टेस्ट जित्नै पर्ने दबाब छ । अस्ट्रेलिया भने यो टेस्टमा जितका डब्लुटिसीको फाइनलमा सहजताका साथ स्थान बनाउँन चाहन्छ । दक्षिण अफ्रिकाले यसअघि नै डब्लुटिसीको फाइनलमा स्थान बनाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *