कालाबञ्जर । सुनसरीको कालाबञ्जरमा भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक भरौल भेट्रान क्लब सुनसरीले जितेको छ ।
बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जरस्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनलमा खेलमा भोजपुर भेट्रान क्लबलाई १-० गोलले स्तब्ध पार्दै आयोजक भरौलले उपाधि हात पार्न सफल भएको हो ।
भरौलको जितमा सरण चौधरीले निर्णायक गोल गरे । उनले खेलको ७औं मिनेटमा गोल गरेका हुन् । त्यसपछि खेलमा दुबै टोलीले केही राम्रा अवसर पाए पनि गोल गर्न नसक्दा भरौलले खेल १-० ले जित्यो ।
उपाधिसँगै भरौलले १ लाख रूपैयाँ पुरस्कार पाएको छ । यस्तै उपविजेतामा सिमित भएको भोजपुरले ५० हजार रूपैयाँमा चित्त बुझायो ।
खेलको म्यान अफ द म्याच भरौलका भुपेन लिम्बु भए । उनले नगद दुई हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर भरौलका रुपक गुरुङ, उत्कृष्ट डिफेन्डर भरौलका शरण चौधरी, उत्कृष्ट मिडफिल्डर भोजपुरका डेनिम राई, सार्वधिक गोलकर्ता भोजपुरका सुरज श्रेष्ठ र प्रतियोतिका सर्वोत्कृष्ट खेलाडी भरौलका बिष्णु सुनुवार घोषित भए । यस्तै उत्कृष्ट प्रशिक्षक भरौलका सन्जिव बस्नेत भए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई तीन हजार एक सय, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही दुई हजार एक सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
भरौल भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका ९ वटा टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि रहनु भएका बराहक्षेत्र खेलकुद विकास समितिका संंयोजक कपिल आचार्यले प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्नुभयो ।
