सुनसरी । द योङ्ग ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा बिहिवारदेखि शुरु भएको दोस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा दमक एकेडेमी फुटबल क्लब, झापाले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा न्यू स्टार क्लब, बराहक्षेत्र, सुनसरीलाई १-० गोलले हराउँदै झापाले विजयी शुरुवात गरेको हो । यो जितसँगै झापा सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

झापाको जितमा एनोस मगरले निर्णायक गोल गरे । उनले खेलको १७औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पनि एनोस नै घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेल लगायतले गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोस्रो क्वाटरफाइनल खेल आयोजक द योङ्ग ब्रदर्श क्लब, इटहरी, सुनसरी र केराबारी फुटबल क्लब, मोरङबीच हुनेछ ।
प्रतियोगितामा कुल ८ टोलीहरु सहभागि छन् । यही माघ २४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
