युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको खेलमा आर्सनलले जित निकाल्दा बायर्न म्युनिख पराजित भएको छ ।

आर्सनलले घरेलु मैदान इमिरेट्स स्टेडियममा इङ्लिस क्लब आर्सनलले क्रोएसियाली टोली डाइनामो जाग्रेबलाई ३-० को गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा डेक्लान राइस, काइ हाभर्ट्ज र मार्टिन ओडेगार्डले समान एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै राइसको गोलबाट घरेलु टोली आर्सनलले अग्रता लिएको थियो । सो अग्रतालाई हाभर्ट्जले खेलको ६५औं मिनेटमा दोब्बर बनाए । इन्जुरी समयमा ओडेगार्डले गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए ।

सहज जितसँगै आर्सनलले ७ खेलबाट १६ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित डाइनामोको समान ७ खेलमा ८ अंकसहित तालिकाको २६औं स्थानमा झरेको छ ।

यस्तै अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख डच क्लब फेयनुर्डसँँग ३-० ले पराजित भयो ।

फेयनुर्डको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन स्यान्टियागो गिमिनेजले दुई तथा आयसे उएदाले एक गोल गरे ।

खेलको २१औं मिनेटमा गिमिनेजको गोलमार्फत फेयनुर्डले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा गिमिनेजले नै पेनाल्टीमार्फत व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा उएदाले गोल गर्दै फेयनुर्डलाई सहज जित दिलाए ।

जितसँगै सात खेलमा १३ अंक जोडेको फेयनुर्ड ११औं स्थानमा छ । पराजित बायर्न समान खेलबाट १२ अंकका साथ १५औं स्थानमा छ ।

लिगअन्तर्गत बुधबारै सम्पन्न अन्य खेलमा इन्टर मिलानले स्पार्टक प्रागलाई १–०, आरबी लायपजिगले स्पोर्टिङ लिस्वनलाई २–१, साख्तर डोनेस्कले ब्रेस्टलाई २–०, एसी मिलानले जिरोनालाई १–० र सेल्टिकले योङ ब्वाइजलाई १–० गोलले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *