सुनसरी । इटहरीमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि टिडब्लुवाइसी भेट्रान क्लब विराटनगर र हाम्रो राजारानी भेट्रान क्लब धनकुटाबीच प्रतिस्पर्धा हुने भएको छ ।
बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक हाम्रो इटहरी भेट्रान क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै विराटनगरले धनकुटासँगको उपाधि भिडन्त पक्का गरेको हो ।

इटहरी-५ पचरुखीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा विराटनगरलाई जित दिलाउन गणेश लावती र मेघराज मगरले गोल गरे । खेलको म्यान अफ दि म्याच गणेश घोषित भए । उनले नगद २,१०० रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यसअघि पहिलो सेमिफाइनलमा धनकुटाले पूर्बेली भेट्रान क्लब बिर्तामोडलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल खेल माघ १२ गते शनिबार हुनेछ ।
हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगितामा कुल आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार तथा उपविजेताले ६१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
