इटालियन सिरी ‘ए’ मा कोमोमाथि इन्टर मिलानले जित निकालेको छ ।
सोमवार भएको खेलमा साविक विजेता इन्टर मिलानले कोमोलाई २-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन कार्लोस अगुस्टो र मार्कुस थुरामले समान १ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४८ औं मिनेटमा हाकन चालहानोग्लुको पासमा अगुस्टोले गोल गर्दै इन्टरलाई अग्रता दिलाए ।
त्यसपछि निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा पियोटर जेलिन्स्कीको पासमा थुरामले गोल गर्दा इन्टर २-० ले विजयी भयो ।
जितपछि इन्टर १६ खेलबाट ३७ अंकका साथ लिग तालिकाको तेस्रो स्थानमा कायम रहेको छ । शीर्ष स्थानमा रहेको एट्ल्यान्टाको ४० अंक छ । दोस्रो स्थानको नापोलीको ३८ अंक छ । कोमोको भने १७ खेलबाट १५ अंकसहित १६औं स्थानमा छ
