दिपक बोहोरा, पाँचथर
त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिमले आर्मीलाई हराए सँगै पाँचथरे टोलीले गत वर्ष भएको चौथो पाँचथर गोल्डकपको फाइनलमा हारेको हारको बदला लिएको छ ।

फिदिम माविको मैदानमा सोमवार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक फिदिम टाइब्रेकरमा ४-२ ले विजयी भएको हो ।
निर्धारित ९० मिनेट सम्म गोलरहित बराबरीमा खेल टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। टाइब्रेकरमा फिदिमका गोलकिपर मिराक खजुम नायक बने ।
टाइब्रेकरमा फिदिमको तर्फबाट आशिष चापागाई, विशाल दर्जी, राम वाजी र नीरोज लिङदेनले गोल गरे। फिदिमका शुक्रराज राईको प्रहार आर्मीका गोल रक्षक नवीन परियारले रोके ।

आर्मीको लागि निरजकुमार घिसिङ र सन्तोष केसीले मात्र गोल गरे । सुजित शाहि र सिद्धान्त चौधरीको प्रहार फिदिमका गोलकिपर म खजुमले रोके ।
आर्मी मंसिरमा इलाम गोल्डकपमा पनि पहिलो खेलमै पराजित भएको थियो । फिदिमले आर्मीमाथि निरन्तर दबाब सिर्जना ग थियो। आर्मी सुरुदेखि अन्तिमसम्मै रक्षात्मक खेल्यो ।
खेलको २२ औं मिनेटमै फिदिमका शुकराजले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार आर्मीका गोलकिपत नवीन बचाउ गरे। फिदिमले पहिलो हाफमा ४ सशक्त प्रहार गरेको भए पनि गोलमा परिणत हुन सकेन ।
३१ औं मिनेटमा फिदिमका दिनेश शेर्माले गोलको राम्रो अवसर गुमाएका थिए । आर्मीका खेलाडीको ट्याकलबाट ४० औं मिनेटमा फिदिमका डिफेन्डर प्रकाश धमलालाई घाइते भए। त्यसपछि उनलाई अस्पताल लानु परेको थियो ।
फिदिमका डिफेन्डर विशाल दर्जी प्लेयर अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताअन्तर्गत मंगलबार हुने दोस्रो क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र न्युस्टार फुटबल क्लब सुनसरीबीच हुनेछ ।
पुस १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र दोस्रो टोली ५ लाख ५ सय ५५ रुपैंया पाँउनेछ । २०७५ सालमा सञ्चालन भएको १० औं संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर भन्दा बढी गरिएको छ ।
