गोधुली फुटबल क्लब धरान सुनसरी ताप्लेजुङको फुङलिङमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजंगा (सेसेलुङ) गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
भानु माविको खेल मैदानमा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा तेह्रथुमको शम्दु एफसीलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै धरान फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुबै टोलीबाट ४-४ गोल भएपछि खेलको टुङ्गो टाई ब्रेकरबाट गरिएको थियो ।
निर्धारित समयमा तेह्रथुमका लागि ओसन राईले दुई तथा सन्दिप लिम्बु र पुजन चौधरीले समान एक-एक गोल गरे भने धरानका लागि सन्जय श्रेष्ठले दुई तथा कार्लोस र मनोज राईले समान एक-एक गोल गरेका थिए ।
टाइब्रेकरमा तेह्रथुमको तर्फबाट मञ्जिल श्रेष्ठ र पुजन चौधरी गोल गर्न सफल भए भने धरानको तर्फबाट दोर्जे तामाङ, दिवश सुनवार, प्रज्वल थापा र शिसिर लेखीले गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच धरानका सञ्जय श्रेष्ठ घोषित भए । उनले नगद ५००० रुपैयाँ सहित मेडल प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत बिहिबार दोस्रो सेमिफाइनल खेल रेड डेभिल्स इलाम र न्यु स्टार क्लब बिर्तामोड झापाबीच हुनेछ । फाइनल खेल शनिबार हुने छ । प्रतियोगिताको विजेताले नगद रु ३ लाख २ हजार ८१ र उपविजेताले नगद रु १ लाख ५२ हजार ८१ प्राप्त गर्नेछ ।
