इन्टर मिलान कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहिवार इन्टरको घरेलु मैदानमा भएको खेलमा युदिनेसेलाई २-० ले पराजित गर्दै इन्टर मिलानले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
इन्टरको जितमा मार्को अर्नोटोभिक र क्रिस्टजन अस्ल्लानीले गोल गरे । दुबै गोल पहिलो हाफमै भयो ।
पहिलो हाफको ३० औं मिनेटमा मेहदी टारेमीको पासमा अर्नोटोभिकले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो । त्यसपछि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा अस्ल्लानीले गोल थप्दा इन्टर २-० ले अघि बढ्यो ।
हारसंगै युदिनेसे भने प्रतियोगिताबाट बाहिरिएको छ ।क्वार्टरफाइनलमा इन्टरले लाजियोको सामना गर्नेछ । लाजियोले नापलोलीलाई हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।
यसैगरी अन्य क्वार्टरफाइनलमा एटलान्टाले बोलोग्ना, एसी मिलानले रोमा तथा युभेन्टसले इम्पोलीको सामना गर्नेछन् ।
