काठमाडौं । मार्क गुइउको पहिलो हाफको ह्याट्रिकको मद्दतले चेल्सीले बिहीबार शामरक रोभर्सलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै युइएफए कन्फरेन्स लिगको लिग चरण शतप्रतिशत जितको रेकर्डसहित समाप्त गर्यो ।

१८ वर्षीय युवा फरवार्ड गुइउले यसअघि अस्तानामाथि ३-१ को जित निकाल्दा दुई गोल गरेका थिए । बिहीबारको खेलमा उनले २२औं मिनेटमा नजिकैबाट हेडर गोल गर्दै चेल्सीको लागि स्कोरको खाता खोल्न सफल भए ।

रोभर्सका लागि मार्कस पुमले बराबरी गोल गरे पनि गुइउले ३४औं मिनेटमा अर्को गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि किर्नान ड्यूसबरी-हलले ६ मिनेटपछि तेस्रो गोल थप्दै चेल्सीको लिड ३-१ पुऱ्याए । इन्जुरी समयको अन्तिम क्षणमा गुइउले अर्को हेडरमार्फत गोल गर्दै आफ्नो पहिलो ह्याट्रिक पूरा गरे ।

‘मैले उनीजस्तो प्रेसरमा खेल्न सक्ने खेलाडी कहिल्यै देखेको छैन,’ हलले टीएनटी स्पोर्ट्ससँग गुइउको प्रशंसा गर्दै भने, ‘उनी अत्यन्त मिहिनती छन् ।’ यसै समरमा बार्सिलोनाबाट चेल्सीमा आएका गुइउले प्रतियोगिताका ६ खेलमा ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

दोस्रो हाफमा मार्क कुकुरेलाले थप गोल गर्दै खेललाई ५-१ मा लगेर टुंग्याए । यो जितसँगै चेल्सीले सबै प्रतियोगितामा लगातार आठौं खेल जित्दै क्लबको डिसेम्बर २०१६ को रेकर्ड बराबर गयो ।

युइएफए कन्फरेन्स लिगमा सहभागी ३६ क्लबमध्ये शीर्ष आठ टोली सिधै अन्तिम १६ मा पुग्नेछन् । नवौदेखि २४औं स्थानसम्मका टोलीले फेब्रुअरीमा नकआउट प्लेअफ खेल्नेछन् भने पुछारका १२ टोली प्रतियोगिताबाट बाहिरिनेछन् । च्याम्पियन्स लिग र युरोपा लिगभन्दा फरक रूपमा कन्फरेन्स लिगको लिग चरणमा टोलीहरूले केवल छ खेल खेल्छन् ।

चेल्सी यस सिजनको एक मात्र अपराजित टोली रह्यो । टोलीले एक खेल बाँकी छँदै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । चेल्सीले ६ खेलमा २६ गोल गर्दै प्रतियोगिताको अहिलेसम्मकै उच्च स्कोरिङ टोली पनि बन्यो । शामरक रोभर्सले यो पराजयपछि पनि १०औं स्थानमा रहँदै युरोपेली प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो आयरिश क्लबको कीर्तिमान बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *