धरान । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन ८-अन्डर ६२ को नयाँ कोर्स रेकर्डसहित सानदार नतिजामा नीरज तामाङ शीर्षस्थानमा रहन सफल भएका छन् ।
घरेलु प्रो नीरजले २०२२-२३ सिजनमा शुकबहादुर राईले बनाएको ७-अन्डर ६३ को रेकर्ड तोड्दै नयाँ कोर्स रेकर्ड बनाएका हुन । उनले धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पारेका छन् ।
धरानस्थित ७० पारको धरान गल्फ क्लबमा ४- अन्डर ६६ को स्कोरमा धन दोस्रो स्थानमा छन् । ३-अन्डर ६७ को नतिजामा भुवन कुमार रोक्का तेस्रो स्थानमा रहे । एमेच्योर सुन्दर राई सहित प्रोहरू युवराज भुजेल र विष्णु प्रसाद शर्माले संयुक्तरुपमा चौथो स्थान बाँडे । १-अन्डर ६९ को स्कोरमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, बलभद्र राई र एमेच्योर जितेन्द्र राई संयुक्तरुपमा सातौं स्थानमा छन् ।
यसैगरी १-ओभर ७१ को स्कोर बनाएका रामे मगर, सुनिल केसी, रवि खड्का, रमेश अधिकारी र एमेच्योर सुरेश तामाङ संयुक्तरुपमा दशौं स्थानमा रहेका छन् ।
धारानका प्रो नीरजले बोगी फ्री ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड बनाउने क्रममा फ्रन्ट नाइन ४- अन्डर ३२ मा सकाए । तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे । ५-पारको १२औ होलमा इगलको सफलता प्राप्त गरेका उनले १५औं र १८औं होलमा पनि एक-एक सट बचाए। उनले ब्याक नाइन ४-अन्डर ३० मा सकाए ।
धनले दोस्रो होलमा बोगी खेले पनि तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए । यसपछि १३औं होलको बोगीविरूद्ध १२औं, १६औं र १८औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३० मा पूरा गरे ।
तेस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाइनमा २- अन्डर ३४ र ब्याक नाइनमा १-अन्डर ३३ खेले । उनले कुल ५ बर्डी र २ बोगी प्रहार गरे । तेस्रो, सातौ, नवौं, पन्ध्रौं र अठारौं होलमा एक-एक सट बचाए । पहिलो र सत्रौं होलमा बोगी खेपे ।
५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशि रहेको छ । विजेताले उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार नगद प्राप्त गर्नेछन् ।
दोस्रो दिनको समाप्तिमा कट लागु हुनेछ र उत्कृष्ट २१ प्रोफेसनल गल्फरले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । एमेच्योर खेलाडीको हकमा पनि सोही कट लागु हुने छ । तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल २७ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागिता रहेको छ। शनिबार प्रो एम इभेन्ट हुनेछ ।
यो सिजन आठ प्रतियोगितामा कुल ६७ लाख नगद पुरस्कार रहेको छ । यसअघि भएको दुई प्रतियोगिताको उपाधि एमेच्योर गल्फरहरूले जितेका थिए । सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुल विके र दोस्रो प्रतियोगिताको उपाधि नेपाल नम्बर एक गल्फर सद्भाव आचार्यले जितेका थिए । यो पटक भने यी दुवै खेलाडीले सहभागिता जनाएका छैनन् ।
