गल्फ संघद्वारा सदभाव सम्मानित

२०८१, ९ पुष मंगलवार २०:३६

नेपाल गल्फ संघले नेपाल नम्बर एक एमेच्योर गल्फ खेलाडी सदभाव आचार्यलाई सम्मान गरेको छ ।

२८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि विजेता सदभावलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले सम्मान गरे । उनलाई सम्मान पत्र र नगद ७५ हजारसहित सम्मान गरिएको हो ।

नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो । सदभाव ओभरअलतर्फ भने दोस्रो भएका थिए ।

युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन, सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगितामा समग्रमा ५-अन्डर २०५ स्कोर गर्दै सदभावले उपाधि जितेका थिए । उनले डेनमार्कका भिक्टोर कोफोड उसलेनलाई २ स्ट्रोकले हराउँदै पहिलो पटक नेपाललाई उपाधि जित्दै इतिहास बनाए ।

सन २०१२ देखि नेपाल गल्फ संघले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप आयोजना गर्न सुरू गरेको हो । १२ वर्षमा पहिलो पटक नेपालले ग्रान्ड फाइनलमा उपाधि जितेको हो ।

एमेच्योर गल्फ वरियतामा अंक जोडिने यो प्रतियोगिता जितेपछि सदभावको विश्व वरियतामा पनि सुधार भएको छ । उनी ५२ स्थान माथी उक्लदै ३१४ औं स्थानमा उक्लिएका छन् ।

सदस्य सचिव घिसिङले विजेता सदभावलाई बधाई दिदै प्रतिभाशाली युवा गल्फरबाट धेरै अपेक्षा राखेको र यसका लागि परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

छ पटकका मेजर टाइटल विजेता सर निक फाल्डोले यो प्रतियोगिता आयोजना गरेका हुन् । यो प्रतिष्ठित जुनियर प्रतियोगिता आयोजनाका लागि आर एण्ड ए, डिपी वल्ड टुर र लेडिज युरोपियन टुरले सहयोग गरेको छ । युएईमा युरोप, मिडल इस्ट र एसियाबाट ७० जुनियर गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *