इटालियन सिरी एमा इन्टर मिलानले पार्मामाथि सहज जित निकालेको छ ।
शुक्रवार राति भएको खेलमा इन्टर मिलानले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी पार्मामाथि ३-१ को सहज जित निकालेको हो ।
इन्टरको घरेलु मैदान स्टाडियो गिउसिप्पे मियाजा रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन फेडेरिको डिमार्को, निकोलो बरेल्ला र मार्कस थुरामले गोल गरे । पराजित टोलीका लागि इन्टरका डिफेन्डर माटेओ डार्मियनलले आत्मघाती गोल उपहार दिए ।
पहिलो हाफको ४० औं मिनेटमा हेनरिक मिखिटेरियानको असिस्टमा डिमार्कोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको ५३ औं मिनेटमा मिखिटेरियानकै पासमा बरेल्लाले गोल गर्दा इन्टर २-० ले अघि बढ्यो ।
यता, ६६ औं मिनेटमा यान बिस्सेकको पासमा थुरामले गोल थप्दा इन्टर ३-० को आरामदायी अग्रतासहित अघि बढ्यो ।तर, ८१ औं मिनेटमा इन्टरका डार्मियनले आत्मघाती गोल गर्न पुग्दा खेल ३-१ को अवस्थामा आयो ।
त्यसपछि खेलमा थप गोल निस्किएन।
सहज जितसंगै इन्टरले १४ लिग खेलबाट ३१ अंक जोडेर तालिकाको तेस्रो स्थानमा कायम रहेको छ । पराजित पार्माको भने १५ खेलमा १५ नै अंकका साथ तालिकाको १२ औं स्थानमा झरेको छ ।
