एटलेटिको म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै स्पेनीस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा एटलेटिको म्याड्रिडले पाहुना टोली सेभिल्लाविरुद्ध ४-३ गोलको रोमाञ्चक जित निकालेको हो ।

एटलेटिकोको जितमा ग्रिजमनले दुई गोल गरे भने रोड्रिगो डे पउल र सामुएल लीनोले एक-एक गोल थपे। सेभिल्लाका लागि लुकबाकियो, रोमेरो, र सान्चेजले गोल गरे पनि टिम पराजित हुनबाट बच्न सकेन ।

रोड्रिगो डे पाउलले खेलको १० औं मिनेटमा गोल गर्दै म्याड्रिडलाई अग्रता दिएका थिए । तर, १२ औं मिनेटमा सेभिल्लाका लागि डोडी लुकेबाकियाले बराबरी गोल फर्काए ।

आइज्याक रोमेरोले ३२ औं र जुआनलु सान्चेजले ५७ औं मिनेटमा गोल गर्दै सेभिल्लालाई ३-१ को अग्रता दिलाए। तर, खेलको ६२ औं मिनेटमा एन्टोनी ग्रिजमन र ७९ औं मिनेटमा सामुएल लिनोले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याए ।

एन्टोनियो ग्रिजमनले ९४ औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई बहुमूल्य तीन अंक दिलाए ।

यो जितसँगै एटलेटिको मड्रिडले आफ्नो लयलाई कायम राख्दै अंक तालिकाको तेस्रो स्थान सुरक्षित गरेको छ । १६ खेलपछि उसका ३५ अंक छन्, जुन दोस्रो स्थानको रियल मड्रिडको ३६ अंकभन्दा मात्र एकले कम छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको भने ३८ अंक छ ।

डिएगो सिमोनीको टिमले पछिल्ला नौ खेलमा लगातार जित दर्ता गर्दै सशक्त प्रदर्शन गरिरहेको छ । सिजनभरि उसले अहिलेसम्म मात्र एक खेल गुमाएको छ, जुन उसको स्थिरता र लयको प्रमाण हो ।

जितपछि एन्टोनियो ग्रिजमनले टिमको एकताबद्धता र दृढताप्रति प्रशंसा गर्दै भने, “हामी अहिले एउटै उद्देश्यका लागि प्रेरित छौं । अब ठूलो सफलताको सपना देख्न र त्यसलाई साकार पार्न निरन्तर प्रयास गर्नेछौं ।”

आइतबार भएका अन्य खेलमा एथलेटिको बिलबाओले भिल्लारियललाई २-० र रियल सोसिडाडले लेगानेसलाई ३-० ले हरायो । ओसासुना र डेपोर्टिभो एलाभेसले २-२ को बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *