काठमाडौं । भारतको बिहारमा जारी पाँचौं संस्करणको अमन सिंह राजपूत (एएसआर) कप क्रिकेटमा नेपाली क्रिकेटर आदिल अन्सारीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
बाली-११ सुपौलबाट खेलिरहेका आदिलले शुक्रबार भएको खेलमा ४० बलमा अविजित ११४ रनको इनिङ खेले ।
हेलो फ्रेन्ड्स मुंगेरविरुद्ध खेलेको उक्त खेलमा आदिलले ३८ बलमै शतक पूरा गरे । उनले खेलमा ७ चौका र ११ छक्का प्रहार गरेका थिए । सो खेलमा आदिल सम्मिलित टोलीले ८ विकेटले जित हात पार्यो ।
नेपाल टी-२० लिग क्रिकेटमा म्याच फिक्सिङ प्रकरणमा जोडिएका आदिल त्यसयता नेपाली क्रिकेटबाट टाढा थिए । उनले काठमाडौं जिल्ला अदालतबाट म्याच फिक्सिङको मुद्दामा सफाइ पाइसकेका छन् ।
