इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा टोटनहम हटस्परमाथि चेल्सीले रोमाञ्चक जित निकालेको छ ।
आईतवार राति भएको खेलमा चेल्सीले टोटनहम हटस्परमाथि ४-३ गोल अन्तरको रोमाञ्चक जित निकालेको हो ।
टोटनहमको घरेलु मैदान टोटनहम हटस्पर रंगशालामा भएको खेलमा भ्रमणकारी टोली चेल्सीलाई जिताउन कोल पाल्मरले दुई गोल गर्दा जोडन सान्चो र इन्जो फर्नान्डेजले एक-एक गोल गरे । पराजित घरेलु टोलीका लागि कप्तान सन ह्युङ मिनसंगै डोमिनिक सोलान्के र डिजेन कुलुसेभ्स्कीले गोल गरे ।
खेल सुरु भएको पाँचौं मिनेटमा ब्रेनान जोनसनको पासमा सोलान्केले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।त्यसपछि ११ औं मिनेटमा पेड्रो पोरोको पासमा कुलुसेभ्स्कीले गोल थप्दा स्पर्स २-० ले अघि बढ्यो ।
तर, १७ औं मिनेटमा मार्क कुकुरेलाको पासमा सान्चोले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल २-१ को स्थितिमा आयो । यता, दोस्रो हाफको ६१ औं मिनेटमा पाल्मरले पेनाल्टीमा गोल गर्दा खेल २–२ को बराबरीमा आयो ।
त्यस्तै, ७३ औं मिनेटमा फर्नान्डेजले गोल गर्दा चेल्सी खेलमा ३-२ ले अघि बढ्यो । खेलको ८४ औं मिनेटमा पाल्मरले पुनः पेनाल्टीमै गोल गर्दा चेल्सी ४-२ ले अघि बढ्यो । तर, खेलको अन्त्यतिर इन्जुरी समयको छैटौं मिनेटमा जेम्स म्याडिसनको पासमा सनले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल ४-३ ले सकियो ।
जितसंगै चेल्सीले १५ खेलबाट ३१ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित टोटनहमको समान १५ खेलमा २० अंकसहित तालिकाको ११ औं स्थानमा झरेको छ ।
