ललितपुर । न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु-१६ युथ लिग २०२४ को उप-विजेता बनेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न लिगको आफ्नो अन्तिम खेलमा एनआरटीले नेपाल पुलिस क्लबलाई २-१ गोलले पराजित गरेको हो । लिगको विजेता बनिसकेको पुलिसलाई हराएसँगै एनआरटी दोश्रो स्थानमा रहँदै उप-विजेता बन्ने पक्का भएको हो ।
एनआरटीको जितका लागि पुकार गोले र अजित तामाङले गोल गरे । पुलिसका लागि कप्तान सुवास बमले एक गोल गरे ।

खेलमा कप्तान सुवास बमले खेलको नवौं मिनेटमा पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, पुकार गोलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । त्यस्तै ५४ औं मिनेटमा अजित तामाङले गोल गर्दै एनआरटीको जित सुनिश्चित गरे ।
यस जितसँगै विजेता पुलिसभन्दा १ अंकले पछि परेको एनआरटीले २२ खेलबाट ४७ अंक जोड्यो । यस्तै विजेता पुलिस समान खेलबाट ४८ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । लिगमा संकटा क्लब तेश्रो भएको छ ।
प्रतियोगितामा एपीएफ, चर्च व्याइज फुटवल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लब, मनाङ्ग मस्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लबले सहभागीता जनाएका थिए ।
