ललितपुर । संकटा क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा यस सिजनको आफ्नो अन्तिम खेलमा पुनरागमन जित हात पारेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै संकटाले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई ३-१ ले पराजित गरेको हो ।
मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटाको जितमा सुदीप लामा, दिलान लिम्बु र कृष्णबहादुर आलेले समान एक-एक गोल गरे । एपिएफका लागि सुनिल थिङले गोल गरे ।

खेलको १८औं मिनेटमा सुनिलले गोल गर्दै एपिएफलाई दिलाएका थिए । तर दोस्रो हाफमा एपिएफले उक्त अग्रता कायम राख्न सकेन ।
६२औं मिनेटमा सुदीपले संकटाका लागि बराबरी गोल फर्काए । आठ मिनेटपछि नै दिलानले गोल गर्दै संकटालाई २-१ को अग्रता दिलाए । खेल सकिन तीन मिनेट बाँकी छँदा कृष्णले गोल गर्दै संकटालाई ३-१ को जित दिलाए ।

जितसँगै २२ खेलमा ४५ अंक जोडेको संकटाले दोस्रो स्थानमा उक्लिएको छ । पराजित एपिएफ समान खेलबाट ३२ अंकका साथ छैटौं स्थानमा रहेर लिग सकाएको छ । मंगलबार नै हुने दोस्रो खेलमा लिग विजेता भइसकेको नेपाल पुलिस क्लबसँग एनआरटी पराजित भए या बराबरी खेले संकटाले दोस्रो स्थान हात पार्ने छ ।
