रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतवार सेभिल्लालाई ४-२ ले हराउँदै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी १ अङ्कमा झारेको छ ।
केलियन एम्बाप्पे, फेडरिको भालभार्डे र रोड्रिगोले गोल गरेपछि रियलले ३४ मिनेटमा ३-० को अग्रता बनायो । एमबाप्पेले १० औं मिनेटमा गोल गरे। ला लिगामा उनको त्यो १० औं गोल हो । भालभार्डेले २० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर बनाए ।
इसाक रोमेरोले ३५ औं मिनेटमा सेभिल्लाका लागि गोल गरे। ब्राहम डेयजले ५३ औं मिनेटमा गोल गरेपछि रियलले अग्रता थप फराकिलो बनायो। खेल सकिन ५ मिनेट बाँकीमा डोबी लुकेबाकियो पोस्ट नजिकबाट गोल गरे ।
सेभिल्लाका कप्तान जिसस नाभासले खेल जीवनको अन्तिम खेल खेले । उनले क्लबसँगको २० वर्षे यात्रा भावुकताका साथ अन्त्य गरे। चोटका कारण उनी सिजनको मध्यमा सन्न्यास लिने अवस्थामा पुगे ।
१८ खेलमा रियलको ४० अंक पुगेको छ । शीर्ष स्थानको एट्लेटिकोको ४१ अंक छ । एक खेल बढी खेलेको तेस्रो स्थानको बार्सिलोनाको ३८ अंक छ। २२ अंकसहित सेभिल्ला १४ औं स्थानमा छ ।
आइतबार राती भएको अन्य खेलमा भियारियलले लेगानेसलाई ५-२ गोल अन्तरले पराजित गर्दा खेल भने तनावपूर्ण भएको थियो । यसैगरी भ्यालेन्सियाले अलाभेससँग २- २ गोलको बराबरी खेल्दै अंक बाँड्दा लस पालमसले एस्पानोललाई १-० को कठिन अन्तरले पराजित गरेको हो । त्यसैगरी बेटिस र भालेकानोलेले एक एक गोलको बराबरी खेल्दै अंक बाँडे ।
