पाकिस्तानले दोस्रो ओडीआई खेलमा दक्षिण अफ्रिकालाई ८१ रनले हराउँदै एक खेल अगावै सिरिज उपाधि जितेको छ । जित्नलाई ३ सय ३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४३.१ ओभरमा २ सय ४८ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले आफ्नो उच्च लयलाई निरन्तरता दिदै ७४ बलमा ८ चौका र ४ छक्कासहिपत ९७ रनको इनिङ खेले पनि जित्नलाई पर्याप्त भएन ।

टोनी डी जोर्जी ३४, टेम्बा बभुमा १२, रास्सी भान डर डुसेन २३, एडेन माक्ररम २१ र डेविड मिलर २९ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ८ ओभरमा ४७ रन खचेर ४ विकेट लिए । नसिम साहले ३, अब्रार अहमदले २ र सलमान अघाले १ विकेट लिए ।

त्यसअघि केप टाउनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४९.५ ओभरमा ३ सय २९ रनमा अल आउट भएको थियो । कप्तान मोहम्मद रिजवानले ८२ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ८० रन जोडे । बाबर आजमले ९५ बलमा ७ चौकासहित ७३ तथा कमरान घुलामले ३२ बलमा ४ चौका र ५ छक्कासहित ६३ रन जोडे। कमरान नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

दक्षिण अफ्रिकाका क्वेना मफकाले ९.५ ओभरमा ७२ रन खर्चेर ४ विकेट लिए । मार्को यानसनले १० ओभरमा ७१ रन खर्चेर ३ विकेट लिए ।

पाकिस्तानले पहिलो खेल ३ विकेटले जितेको थियो। तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । त्यसपछि यी दुई देशले दुई टेस्ट खेल खेल्नेछन् । दुई मध्य एक खेल जितेमा दक्षिण अफ्रिकाले टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *