भारतीय युवा ओपनर अभिषेक शर्माले टी-२० क्रिकेटमा मात्र २८ बलमा शतक पूरा गर्दै नयाँ इतिहास रचेका छन् ।
शैद मुश्ताक अली ट्रफी अन्तर्गत पञ्जाबका लागि खेल्दै उनले मेघालयविरुद्ध यो उपलब्धि हासिल गरे । १४३ रनको लक्ष्य पञ्जाबले ९.३ ओभरमै पूरा गरेको खेलमा अभिषेकले २९ बलमा ८ चौका र ११ छक्कासहित अविजित १०६ रन बनाए।
अभिषेक अब टी-२० क्रिकेटमा भारतबाट संयुक्त रूपमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेका छन् । यसअघि यही प्रतियोगितामा गुजरातका युर्भिल पटेलले त्रिपुराविरुद्ध २८ बलमै शतक प्रहार गरेका थिए ।
टी-२० इतिहासमै अहिलेसम्म सबैभन्दा छिटो शतकको कीर्तिमान इस्टोनियाका साहिल चौहानको नाममा छ, जसले साइप्रसविरुद्ध यसै वर्ष २७ बलमा शतक पूरा गरेका थिए ।
वेस्टइन्डिजका क्रिस गेलले २०१३ को आईपीएलमा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलमा शतक हानेका थिए, भने भारतका ऋषभ पन्तले शैद मुश्ताक अली ट्रफीमै दिल्लीबाट हिमाञ्चल प्रदेशविरुद्ध ३२ बलमा शतक बनाएका थिए ।
