अल नासेर साउदी प्रोफेस्नल लिगमा अल इतिहादसंग पराजित भएको छ ।
शुक्रवार राति भएको खेलमा अल नासेर अल इतिहादसंग २-१ ले पराजित भएको हो ।
इतिहादको घरेलु मैदान किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम बेन्जामा र स्टेभेन बेर्गविनले गोल गरे । पराजित भ्रमणकारी टोलीका लागि क्रिस्चियानो रोनाल्डोले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५५ औं मिनेटमा मुहन्नद अलशानक्टिीको पासमा बेन्जामाले गोल गर्दा घरेलु टोली १-० ले अघि बढ्यो ।
तर, ५७ औं मिनेटमा एन्जेलो बोर्गेसको पासमा रोनाल्डोले गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो । त्यसपछि खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा मारियो मिटाजको पासमा स्टेभेनले गोल गर्दा अल इतिहाद २-१ ले विजयी भयो ।
जितसंगै अल इतिहादले १३ खेलबाट ३६ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
पराजित अल नासेर भने समान १३ खेलमा २५ अंकसहित तालिकाको चौथौं स्थानमा झरेको छ ।
