रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रायो भालेकानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।
बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेकानोले २-० को अग्रता जोगाउन सकेन ।
भालेकानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे ।
लोपेजले चौथो र मुमिनले ३६ औं मिनेटमा गोल गर्दै भालेकानोलाई २-० ले अघि बढाए । रियलका भाल्भेर्डोले ३९ औं र बेलिङघमले ४५ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा खेल २-२ को बराबरी भयो ।
रोड्रिगोले ५६ औं मिनेटमा गोल गर्दै रियललाई पहिलो पटक अग्रता लियो। पालेजोनले ६४ औं मिनेटमा भालेकानोका लागि बराबरी गोल गरे।
रियलको १७ खेलबाट ३७ अंक भएको छ । समान खेलबाट बार्सिलोनाको ३८ अंक छ । भालेकानो २० अंकसहित १३ औं स्थानमा छ।
शनिवार अन्य खेलमा सेभियाले सेल्टा भिगोलाई १-० र मार्लोकाले जिरोनालाई २-१ हरायो । इस्पनयोल र ओससुनाले गोलरहित बराबरी खेलेका छन् ।
